Showing posts with label People. Show all posts
Showing posts with label People. Show all posts

Wednesday, August 13, 2008

खुम्जुङमा चम्किएका तेम्बा

स्वास्थ्य क्षेत्रका लागि राम्रो उदाहरण बनेका छन्, सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्जुङको खुन्दे अस्पतालका डाक्टर कामी तेम्बा शेर्पा। सोलुको नाम्चेमा जन्मिएका तेम्बा एडमण्ड हिलारीले ४२ वर्षअघि स्थापना गरेको अस्पतालमा २६ वर्षअघि मेडिकल सहायकको रूपमा प्रवेश गरेका थिए। १२ वर्ष सो काम गरेपछि हिलारीले मिलाइदिएको छात्रवृत्तिमा एमबीबीएस गर्न उनी फिजी गए। सन् २००० मा फर्किएपछि पाटन अस्पतालमा दुई वर्ष इन्टर्नसिप गर्दा उनलाई सोही अस्पतालमा काम गर्न अफर आएको थियो। तर दुर्गममा नजान धेरैले दिएको सुझ्ावलाई लत्याउँदै उनी सरासर खुम्जुङ फर्किए र बिरामीको सेवामा जुटे।
सञ्चालनमा आएको धेरै वर्षसम्म पनि खुन्दे अस्पतालमा विदेशी डाक्टरले काम गर्थे। पढेर फर्केपछि तेम्बाले नै डाक्टरकोे सबै जिम्मेवारी पाएका छन्। नेपालको चर्चित पर्यटन क्षेत्र नाम्चे, खुम्जुङ र चौरीखर्कमा निकै लोकप्रिय तेम्बा स्थानीय बासिन्दा, ट्रेकिङ मजदूर र विदेशी पर्यटकका लागि समेत प्रिय डाक्टर बनेका छन्। प्रशंसा र हौसला थुप्रै पाएका तेम्बा भन्छन्, “आफ्नै खर्चले पढ्न सक्ने अवस्था थिएन, हिलारीको योगदानले यस क्षेत्रका बिरामीको सेवा गर्ने सौभाग्य पाएँ।”
क्यानडाको हिलारी फाउन्डेशनले सञ्चालन गर्दै आएको खुन्दे अस्पतालमा रु.२० को टिकट काटेपछि बिरामीले औषधि, बेड, एक्सरे र अन्य सुविधा निःशुल्क पाउँछन्। खुम्जुङमा १८ वर्ष सेवा गरिसकेका तेम्बा भन्छन्, “सुख-सुविधा खोज्दै शहरतिर जाने इच्छा छैन, यहीँका बिरामीको सेवा गरिरहन्छु।”
Source: Himal Khabar Patrika