Thursday, September 23, 2010

बिमान कम्पनीहरु प्रति चौरिखर्क नागरिक समाजको आपति

७ असोज, चौरिखर्क/सोलुखुम्बु –
 चौरीखर्क नागरिक समाज सोलुखुम्बुले तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा उडान भर्ने बिमान कम्पनीहरुले स्थानीयबासीलाई बेवास्ता गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समाजको आज सम्पन्न बैठकले तेन्जिङ हिलारी बिमानस्थल खुम्बु क्षेत्रका बासिन्दाहरुलाई सेवा दिने उदेस्यले निर्माण भएको भएपनि सिमित एअरलाईन्सहरुले मुनाफाको लागि प्रयोग गर्दै आएको प्रति आपत्ती जनाएको चौरीखर्क नागरिक समाजका अध्यक्ष आङगारा शेर्पाले जानकाी दिनुभयो ।
बैठकले काठमाण्डौबाट लुक्ला आउँदा र जाँदा प्रत्येक जहाजमा बिदेशी पर्यटकका सहयोगी बाहके ३ जना नेपालीको लागि सिटको व्यवस्था अनिबार्य गर्नुर्ने, काठमाण्डौबाट लुक्लाका लागि चिठिपत्र र कागजात पठाउन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले पासको ब्यबस्था गर्नुपर्ने, र नेपाल एअरलाईन्सले लुक्लामा उडान पुन शुरु गर्नुपर्ने र स्थानीय उपभोक्ताको हितलाई बेवास्ता गरेकोले सिता एअरलाई लुक्लामा उडान अनुमती नदिनको लागि सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै हिजोको बैठकले चौरीखर्क गाविस क्षेत्रमा बिभिन्न भातृसंगठनको नाममा चन्दा आतंक बढेको र पर्यटक तथा व्यवसायीहरुमाथी अमानविय व्यवहार भईरहेकोले त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न अनुरोध गर्ने र बन्द नगरे आधिकारीक निकायसँग समन्वय गरी कारबाही गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पर्यटन व्यवसायको कारण सृजित रोजगारी अबसरको कारण चौरीखर्क क्षेत्रमा पुग्ने मजदुरलाई परिचयपत्र उपलब्ध गराउने भन्दै वाईसिएलले अखिल नेपाल पर्यटन मजदुर संघको साधरण सदस्यको रुपमा परिचय पत्र बितरण गर्दै आएको प्रति ध्यानाकर्षण भएको भन्दै भ्रममा परी साधरण सदस्य बनाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । बैठकले त्यस क्षेत्रमा काम गर्न बाहिरबाट आउने मजदुरहरुलाई नेपाली नागरिकता वा सम्बन्धीत गाविसले प्रमाणित गरेको कागजात ल्याउन अनुरोध गरेको छ ।
बैठकमा समाजका ४३ जना सदस्यहरुको सहभागीता रहेको पनि अध्यक्ष आगरा शेर्पाले जानकारी दिनुभयो ।

साभार  सोलु अनलाइन