Sunday, October 10, 2010

हिमालयन शेर्पा, फूटबल मा नया शक्ति को उदय |

फुटबलमा नयाँ शक्तिको उदय

हिमालयन शेर्पा क्लब न्युरोड टिम -एनआरटी) लाई शून्यका विरुद्ध एक गोलले हराएर सानमिगेल नकआउट फुटबल च्याम्पियन भएको छ । हिमालयन शेर्पाले  'ए' डिभिजनको फुटबलमा पहिलो सहभागितामै उक्त सफलता हात पारेको हो । हिमालयन शेर्पाको योे उपलब्धिलाई नेपाली फुटबलमा दुर्लभ मानिएको छ ।

ठूलो लगानी, चुस्त व्यवस्थापन एवं खेलाडीहरूको कडा परिश्रमको सम्मीश्रण हिमालयन शेर्पाको सफलताको आधार थियो । मासिक ८ हजारदेखि ३० हजार रुपैयाँसम्म  पारिश्रमिक बुझ्ने खेलाडीले हिमालयन शेर्पालाई पहिलो मुख्य उपाधि दिलाए । 'उनीहरूले खुबै मिहिनेत गरे', हिमालयन शेर्पाका प्रशिक्षक उपेन्द्रमान सिंहले भने, 'गाह्रो  स्थितिमा पनि कुनैपनि खेलाडी प्रशिक्षणमा अनुपस्थित भएनन् । अनुशासित र जोसिलो रूपमा प्रस्तत हुँदै राम्रो खेले । व्यवस्थापनको बलियो साथले पनि प्रत्येक खेलमा  खेलाडीको आत्मविश्वास बढाउँदै गएको थियो ।'

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंहको भनाइ मान्ने हो भने हिमालयन शेर्पा इतिहास रच्न आएको क्लब हो । क्लबको मुख्य प्रशिक्षकका रुपमा पहिलो  पाइलामै उपाधि जितेपछि सिंहको भनाइले बलियो साथ पाएको छ । घरेलु फुटबलमा नयाँ सिजनको पहिलो प्रतियोगिता जितेर हिमालयन शेर्पाले नेपाली फुटबलमा नयाँ  शक्तिको उदयको संकेत दिएको छ । एक वर्षका लागि ५० लाख रुपैयाँ लगानी गर्ने घोषणाले पनि हिमालयन शेर्पाले नेपालको बलियो फुटबल क्लबका रूपमा स्थापित हुने  संकेत दिएको छ ।

वि.सं.२०६२ साल फागुन १२ गते स्थापना भएको क्लब 'ए' डिभिजन नकआउट फुटबल च्याम्पियन हुनु चानचुने होइन । दुई वर्षअघि मात्र 'बी' डिभिजन लिगमा  उपविजेता हुदै 'ए' डिभिजनमा उक्लिएको क्लब हो, हिमालयन शेर्पा । २०६३ सालमा हिमालयन शेर्पाले 'सी' डिभिजन छनोट खेलिरहेको यथार्थतामा विश्वास गर्न धेरै जना  तयार छैनन् । त्यही वर्ष हिमालयन शेर्पाले 'सी' डिभिजन लिग जितेको थियो ।

हिमालयन शेर्पा २०६५ को 'बी' डिभिजन लिगमा उपविजेता हुँदै पहिलो श्रेणीमा उक्लिएको हो । हिमालयन शेर्पाले २०६२ मा सिन्धु कप र २०६४ मा सयपत्री कप पनि  जितेको थियो । सानमिगेल नकआउटको सफलता हिमालयन शेर्पाका लागि चौथो उपाधि हो । अल स्टार कप, प्रोगेसिभ कप तथा महेन्द्र खड्का स्मृति कपमा हिमालयन  उपविजेतामै रोकिएको थियो । सानमिगेल नकआउट हिमालयन शेर्पाले खेलेको सर्वाधिक ठूलो प्रतियोगिता बूढासुब्बा गोल्डकप-०६६ र आहा गोल्डकप-०६३ हुन् । ती दुवै  प्रतियोगितामा हिमालयन शेर्पा सेमिफाइनलसम्म पुगेको थियो ।

१५ वर्षअघि त्रिभुवन च्यालेञ्ज सिल्ड जितेयता काठमाडौंमा उपािध जित्ने एनआरटीको लक्ष्य चकनाचुर पार्ने हिमालयन शेर्पा स्टारहरूको टिम भने होइन । नेपाली राष्ट्रिय  टिमका कप्तान सागर थापा हिमालयन शेर्पाका पनि कप्तान हुन् । कप्तानका रूपमा उनको यो पहिलो उपाधि हो । पूर्वराष्ट्रिय खेलाडी नवीन न्यौपानेले अन्तर्राष्ट्रिय  फुटबलबाट सन्यास लिइसकेका छन् । फाइनलको एकमात्र गोल गरेका दीपक राई नेपाली फुटबलका आशालाग्दा स्ट्राइकर हुन् । पुकार गहतराज, रुपेश केसी, जगजित श्रे ष्ठ, रुपक श्रेष्ठ एन्फा एकेडेमी र सरोज दाहाल मध्यपुर युथ एसोसिएसनका उत्पादन हुन् । सुनिल सुवेदीले मनाङ-मस्र्याङ्दी, सोमबहादुर मल्लले एनआरटी तथा दिनेश  कार्कीले एपीएफबाट खेलिसकेका छन् ।

युवा खेलाडीको बाहुल्य भएकाले हिमालयन शेर्पालाई प्रतिभावान् खेलाडीले भरिएको टिम भन्न सकिन्छ ।



५ प्रश्न

सानमिगेल नकआउट फुटबल विजेता हिमालयन शेर्पाका प्रशिक्षक हुन्, उपेन्द्रमान सिंह। सिंह पहिलोपल्ट क्लबको मुख्य प्रशिक्षक भएका हुन्। पहिलो प्रयासमै सिंहले  सफलता हात पारेका छन्। सिंह नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पनि हुन्। सिंहलाई नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलकिपर मानिन्छ।

हिमालयन शेर्पाको सफलताका आधार के हुन् ?

खेलाडीको मिहिनेत र राम्रो व्यवस्थापन । क्लब व्यवस्थापनले खेलाडी र प्रशिक्षकको हरेक समस्या समाधान गरेका छन् । खेलाडीले जस्तोसुकै परिस्थितिमा पनि निरन्तर  प्रशिक्षण गरिरहेका छन् ।

उपाधि यात्रालाई कस्तो मान्नुहुन्छ ?

उपाधि जित्ने कहिल्यै सोचिएन । राम्रो र आधुनिक फुटबल खेल्नमा जोड दिएू । प|mेन्ड्स, आर्मी तथा एपीएफजस्ता बलिया टिमलाई हराएर फाइनल पुग्नु पनि हाम्रा लागि  महत्त्वपूर्ण सफलता थियो । एनआरटीलाई हराएर उपाधि जित्नु विशेष रह्यो ।

हिमालयन शेर्पा कस्तो टिम हो ?

प्रतिभावान् खेलाडीको टिम । सागर थापालाई छाडेर टिममा स्टार खेलाडी छैनन् । जुनियर खेलाडीको बाहुल्य छ र उनीहरू भविष्यका स्टार हुन् । उनीहरूलाई स्टार  बनाउने काम प्रशिक्षकको हो ।

तपाईंको मुख्य लक्ष्य के हो ?

सहिद स्मारक 'ए' डिभिजन लिगमा हिमालयनलाई सफलता दिलाउँदै राष्ट्रिय लिगमा छनोट हुने । त्यसैले आवश्यकताअनुसार छनोट गरेर क्लबले खेलाडी अनुबन्ध गरेको  छ । निरन्तर प्रशिक्षण दिएर उनीहरूलाई लिगका लागि तयार गर्नेछौं ।

अहिलेको योजना के हो ?

बुटवलमा तिलोत्तमा गोल्डकपमा राम्रो खेल्ने र सफलता हात पार्न तयारीमा लाग्नेछौं । त्यसपछि बि्रटिस गोर्खा कप, आहा गोल्डकप र बूढासुब्बा गोल्डकप हाम्रो लक्ष्य  हुनेछ ।

No comments: